मुख्यमन्त्री पौडेललाई सांसदको काउण्टर– ‘हेप्नी, संसद र लोकतन्त्रलाई हेप्नी’

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार १९:५७

हेटौंडा, १३ माघ । बागमती प्रदेशसभाको पुस अन्तिम साता भएको बैठक देशैभर चर्चित छ । पुस २७ गतेको बैठकले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगियो ।

राजधानी र नामकरण टुंगिनु अघि प्रदेशसभा बैठकमा छलफल चल्यो, प्रदेशसभा बैठकमा राजधानी र नामकरणका लागि प्रस्ताव पेश भयो ।

प्रस्तावमाछि उठेका प्रश्नको जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विवेकशील नेपाली दलका सांसद रमेश पौड्यालको हैसियत खोज्दै ‘संसद नै नरहन सक्ने’ अभिव्यक्ति दिए ।

प्रदेशको राजधानी हेटौंडा प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेशसभालाई सम्बोधन गर्दै प्रस्तावक रहेका मुख्यमन्त्री पौडेलले आफ्नो पार्टीको सचिवालयको निर्णयविरुद्ध बोल्ने हैसियत कसैको नभएको बताएका थिए । विवेकशीलका पौड्यालले प्रदेशको राजधानी र नामको विषयमा नेकपा सचिवालयले गरेको निर्णयको विरोध गरेका थिए ।

मुख्यमन्त्री पौडेलले नेकपाको निर्णयमाथि प्रश्न उठाउने हैसियत नभएको, लोकतन्त्र र गणतन्त्रको बारेमा सिकाएको भन्दै पौड्याललाई घुमाउरो तरिकाले प्रहार गरेका थिए ।

त्यसको केही दिनमै विवेकशील नेपाली दलले मुख्यमन्त्रीको असंवैधानिक भनाईप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन आग्रह गर्यो ।

‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विवकेशीलले निकालेको विज्ञप्तिमा भनिएको थियो ।

सोही मुख्यमन्त्री पौडेल र विवेकशीलका सांसद पौड्यालको विषय पुनः आज सोमबार बसेको प्रदेशसभामा उठेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद जीवन डंगोलले विशेष समयमा बोल्दै मुख्यमन्त्रीकै हैसियतमाथि प्रश्न गर्दै काउण्टर दिएकी छिन् ।

असल कम्युनिष्ट भन्नेहरुले प्रदेशको राजधानी र नामकरण लगत्तै धन्यवादको बदलामा लोकतन्त्रलाई आक्रमण र अधिनायकवाद लाद्न खोजेको सांसद डंगोलले आरोप लगाइन् ।

उनले प्रदेशकै असल कम्युनिष्ट भन्नेहरुले हैसियत खोजेर संसदीय अभ्यासलाई अवहेलना गरेको बताइन् । उनले यसो भनिरहँदा विवेकशीलका सांसद पौड्यालले समर्थन जनाएका थिए ।

‘संसदमा आफ्नो कुरा राख्न खोज्दा, भावना व्यक्त गर्दा तिम्रो हैसियत के हो भनी खोज्ने ? । यो कस्तो लोकतान्त्रिक पद्धती हो ?, कस्तो संसदीय व्यवस्था हो ? ।–’ सांसद डंगोलले भनिन्– ‘हेप्नी, संसदलाई हेप्नी, लोकतन्त्रलाई हेप्नी । संविधान र लोकतन्त्रलाई हेप्नी हैसियत सरकारलाई कस्ले दियो ? ।–’ उनले हैसियतमाथि प्रश्न गर्दै खेद प्रकट गरिन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*