सशस्त्र प्रहरीद्वारा ७ महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद
सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ। सरकारले सीमा सुरक्षा र निगरानी कडा बनाउने नीति लिएसँगै अवैध ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा उक्त मूल्य बराबरको सामग्री बरामद गरिएको हो। यस क्रममा १७ नाल अवैध हातहतियार फेला परेका छन् भने हातहतियारसम्बन्धी घटनामा आठ जना पक्राउ परेका छन्।
यस अवधिमा लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन तथा विभिन्न ट्याब्लेट र इन्जेक्सन बरामद गरिएको छ। मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन्।
सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाउनुका साथै २०४ स्थानमा ९४.५८८ किलोमिटर सीमा क्षेत्र सरसफाइ गरिएको छ।
सशस्त्र प्रहरीले सीमावासीसँगको सम्बन्ध सुधार र जनचेतना अभिवृद्धिका लागि २ हजार ८०६ कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।
