राजधानी र नाम टुंगाउन आज मतदानः हेटौंडाको पक्षमा १०५ मत, धुलिखेलको पक्षमा ३ मत खस्ने अनुमान

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार ०९:४२

हेटौंडा, २६ पुस । प्रदेश सरकार गठन भएको दुईवर्षपछि प्रदेश ३ ले स्थायी राजधानी र नाम आज पाउँदै छ । प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनले स्थायी राजधानी र नामको टुंगो लगाउन लागेको हो ।

शनिवारको प्रदेशसभा बैठकमा राजधानी र नामको प्रस्ताव पारित गर्ने कार्यसूचि छ । प्रदेशसभा सदस्यहरुले प्रस्तावित राजधानी र नामको पक्षमा मतदान गरेपछि प्रदेश ३ ले दुईवर्षदेखिको अन्यौलता हटाउने छ । गणितिय रुपमा प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती हुने लगभग निश्चित जस्तै भइसकेको छ ।

आज बस्ने प्रदेशसभा बैठकले राजधानी र नामकरण मतदान प्रक्रियाबाट टुंगो लगाइन लागिएको हो । शनिबारको प्रदेशसभा बैठकमा राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेलको प्रस्ताव पेश भएको छ भने नाममा बाग्मतीको मात्र प्रस्ताव पेश भएको छ ।

राजधानीका लागि मकवानपुरको हेटौंडा प्रस्तावकमा नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र नेमकिपाका सुरेन्द्र लाल गोसाईं रहेका छन् ।

यस्तै राजधानी काभ्रेको धुलिखेल प्रस्तावकमा विवेकशिल साझाका रमेश पौड्याल रहेका छन भने समर्थकमा शोभा शाक्य र विरजभक्त श्रेष्ठ रहेका छन् ।

यसैगरी शनिवारको बैठकमा प्रदेशको नाममा बाग्मती मात्र प्रस्ताव पेश भएको छ । कांग्रेस प्रदेश ३ का संसदीय दलक नेता इन्द्रबहादुर बानियाँले बाग्मती नाम पशे गरेका हुन । यसको समर्थनमा रिता माझी, रिना गुरुङ, रमेश पौड्याल र शोभा शाक्य रहेका छन् ।

संसदमा प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । राजधानी पारितका लागि ७४ मत भए पुग्छ । राजधानी र नाम टुंग्याउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभामा नेकपाका सांसद ७९ जना रहेका छन् । नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १–१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ ।

राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशील साझा पार्टी र विवेकशील नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*