एयर ट्राफिक कन्ट्रोलमा समस्या आएपछि अमेरिकाभरका विमानस्थलमा उडान स्थगित

तु खबर संवाददाता
२०८३ कार्तिक २९, शनिबार ०७:५४
फाइल फोटोः डेभिड साइफर्स / अनस्प्ल्याश

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) को एयर ट्राफिक कन्ट्रोल प्रणालीमा समस्या आएपछि आज नोभेम्बर १३ मा अमेरिकाभरको उडान स्थगित गरिएको छ । समस्याका कारण १० हजार उडान ढिला भएका थिए भने करिब १ हजार ७ सय उडान रद्द गरिएको छ ।

प्रणालीमा प्राविधिक समस्या आएको बताइएको भए पनि कस्तो प्राविधिक समस्या आएको हो र त्यसको समाधान कहिलेसम्म हुन्छ भन्ने विषयमा अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् ।

एफएएले देशभरका विमानस्थलमा उडान रोक्न निर्देशन दिएपछि सबै उडानहरू रोकिएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन् । एयर ट्राफिक कन्ट्रोल प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण यो निर्णय लिनुपरेको जनाइएको छ । उडान र यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर यस किसिमको निर्देशन दिइएको हो ।

अमेरिकाका होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण जहाजहरूको उडान रोकिएको बताएका छन् । तर, यसको समाधानमा भइरहेको प्रगति र कहिलेबाट उडान पुनः सञ्चालनमा आउनेछन् भन्ने उनले केही बताएनन् ।

अमेरिकी अधिकारीहरूले सबै एयर कन्ट्रोललाई प्रभावित पार्ने गरी देखिएको प्राविधिक समस्या समाधानका लागि काम भइरहेको बताएका छन् ।

शुक्रबार अमेरिका आउने र अमेरिकाबाट अन्यत्र उडान भर्ने सबै जहाजहरू प्रभावित भएका छन् । एफएएको अर्को निर्देशन नभएसम्म कुनै पनि उडानहरू हुने छैनन् । आकाशमा रहेका विमानहरूलाई भने गन्तव्यमा पुग्न अनुमति दिइएको थियो । अमेरिकी एयरपोर्टहरूमा ल्यान्ड हुनुपर्ने विमानहरूका हकमा भने परिस्थितिअनुसार आवश्यक निर्णय गरिने छ ।

अमेरिकी एयर ट्राफिक कन्ट्रोलको प्रणालीमा समस्या आएपछि क्यानडा, लन्डन, मेक्सिकोलगायतका देशबाट अमेरिका आउने र ती देश जाने उडानहरू रोकिएका छन् । सबै निर्धारित उडानहरू स्थगित गरिएको छ भने यात्रुहरूलाई टिकट अर्को मितिका लागि सार्न अनुरोध गरिएको छ ।