अमेरिकाले नेपालसँगको सम्बन्धमा व्यावसायिक सहकार्य र लगानीलाई जोड दिएको छ: विदेश मन्त्रालय
न्युयोर्क । अमेरिकाले नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन लगानी र व्यावसायिक सम्बन्धलाई महत्वपूर्ण क्षेत्रका रूपमा हेरेको अमेरिकी विदेश मन्त्रालयका एक जना बरिष्ठ अधिकारीले बताएका छन् ।
अमेरिकाले आफ्ना कम्पनीहरु नेपालमा गएको र नेपाली कम्पनीहरु अमेरिकामा आएको देख्न चाहेको पनि ती अधिकारीले बताएका छन् ।
नेपालको जटिल भूराजनीतिक अवस्थालाई अमेरिकाले राम्रोसित बुझेको स्पष्ट पार्दै ती अधिकारीले अमेरिका तथा अन्य पश्चिमी मुलुकसँग पनि सम्बन्ध विस्तार गर्ने थप अवसर उपलब्ध गराउने अमेरिकाको चाहना रहेको बताए । नेपाललाई कुनै एक पक्ष रोज्न दबाब दिने नीति अमेरिकाको छैन, उनको भनाइ छ ।
अमेरिकाले नेपाललाई भारत र चीनमध्ये कुनै एक पक्ष छान्नै पर्छ भनी कहिल्यै नभनेको उनले स्पष्ट पारे । नेपाललाई आर्थिक तथा व्यावसायिक अवसर विस्तार गर्न अमेरिकाले चाहेको स्पष्ट पार्दै उनले भने, मलाई लाग्दैन कि हामी कुनै पनि देशमा गएर ‘तपाईंले एउटा रोज्नुपर्छ’ भन्नेछौं । नेपालको हकमा अमेरिका व्यवसायिक संलग्नता बढाउन चाहन्छ, ती अधिकारीले संवाददातासित भने ।
विशेष गरी वाणिज्य र लगानीका क्षेत्रमा अमेरिका नेपालसँगको सहकार्य बढाउन चाहन्छ र यसैको थालनीस्वरूप यस वर्ष पहिलोपटक नेपाली प्रतिनिधिमण्डल ‘सेलेक्ट अमेरिका’ कार्यक्रममा सहभागी भएको छ। यसमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनु महत्वपूर्ण कदम हो, उनले भने । नेपालले लगानीको बारेमा आफ्ना कानुन अघिल्लो वर्ष संशोधन गरेको स्मरण उनले गरे ।
नेपाललाई अमेरिकी भिजिटर भिसा बन्ड कार्यक्रमबाट हटाउन नेपालले गरेको अनुरोधबारे अमेरिकी विदेश मन्त्रालयले समीक्षा गरिरहेको पनि ती अधिकारीले बताए । भिसा बन्ड कार्यक्रम तथा अन्य अध्यागमनसम्बन्धी उपायहरूको देशअनुसार निरन्तर समीक्षा भइरहेको जानकारी दिए । ट्रम्प प्रशासन आउँदा गम्भीर रुपमा सम्बोधन गर्नुपर्ने विषय बनेको स्मरण गर्दै उनले भिसा बन्डजस्ता उपायसहित आवश्यक कदम चाल्नुपरेको बताए । त्यसैले अमेरिकाले सधैं यी विषयहरुको समीक्षा भइरहेका छन्, र हामी देश अनुसार हेरिने पनि उनले स्पष्ट पारे ।
त्यसैगरी, गत महिना नेपालमा रसुवा भोटेकोशी बाढीका कारण पुर्याएको क्षति र त्यसमा अमेरिकी सरकारले गर्ने सहयोगका सन्दर्भमा संवाददाताहरुले सोधेको प्रश्नमा ती बरिष्ठ अधिकारीले नेपाल सरकारसँग नजिकको सम्पर्कमा रहेको र मुल्याकंनपछि सहयोगहरु थप गर्दै जान सकिने बताएका छन् ।
नेपाललाई थप सहयोग हुँदै जाने बताउँदै उनले बाढीमा हराइरहेका ७० जना नागरिकहरु पनि अमेरिकी सरकारको उच्च प्राथमिकतामा रहेको बताए । हामी नेपाल सरकारसँग दीर्घकालीन पुनर्निर्माण प्रयासहरूमा समन्वय गर्न अगाडि बढ्नेछौं, उनले भने तर अहिले खाना, आश्रय र पानी तत्कालिन आवश्यकताहरु हुन् ।
