ओमानको अर्थतन्त्र मजबुत स्थितिमाः अन्तर्राष्ट्रिय मुद्रा कोष

तु खबर संवाददाता
२०८३ कार्तिक २४, सोमबार १९:०२

वासिङ्टन, डीसी । अन्तर्राष्ट्रिय मुद्रा कोषले ओमानको अर्थतन्त्र मजबुत स्थितिमा रहेको र यसको आर्थिक परिदृश्य सकारात्मक रहेको जनाएको छ।

अब्दुल्लाह अल हसनको नेतृत्वमा अक्टोबर २५ देखि नोम्बर ८ सम्म मस्कटमा भएको परामर्श छलफलपछि कोषले ओमानको अर्थतन्त्र मजबुत अवस्थामा रहेको जानकारी दिएको हो । कोषद्वारा जारी गरिएको प्रतिवेदनअनुसार, निर्माण, उत्पादन र पर्यटन क्षेत्रमा केही सुस्तता आए तापनि हाइड्रोकार्बन क्षेत्रको बलियो प्रदर्शनका कारण सन् २०२६ मा ओमानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

सन् २०२५ मा १ प्रतिशतमा सीमित रहेको औसत मुद्रास्फीति भने खाद्य र यातायातको लागत वृद्धिका कारण सन् २०२६ मा ३.० प्रतिशत पुग्ने र मध्यम अवधिमा घटेर २ प्रतिशतमा आउने अपेक्षा गरिएको कोषले जनाएको छ ।

ओमानको वित्तीय बचत सन् २०२६ २७ मा जीडीपीको औसत ५.३ प्रतिशत रहनेछ भने हालको खाता बचत ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

विश्वव्यापी तथा क्षेत्रीय अनिश्चितता र द्वन्द्वका बाबजुद कोषले ओमानलाई वित्तीय अनुशासन कायम राख्दै सुधारका कदमहरू अघि बढाउन सुझाव दिएको जनाएको छ ।

जोखिममा रहेका परिवार र सक्षम व्यवसायहरूलाई दिइने सहयोग पारदर्शी, अस्थायी र लक्षित हुनुपर्ने सुझाव पनि कोषको छ । त्यसैगरी, कर प्रशासनलाई सुदृढ गर्ने, अलक्षित अनुदान क्रमशः हटाउने र सार्वजनिक लगानीको दक्षता बढाउने गरी काम गर्न पनि कोषको सुझाव छ । ओमानी रियालको विनिमय दर पेग प्रणालीलाई उपयुक्त नीतिगत आधार मान्दै मौद्रिक नीति सुदृढीकरण र पुँजी बजारको विकासमा काम गर्न कोषले सुझाएको प्रतिवेदनमा उल्लेख छ । निजी क्षेत्रको सहभागिता बढाउन र श्रम बजारमा सुधार गर्न पनि कोषले सुझाव दिएको छ ।