नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनले बाढीबाट भएको व्यापक क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिको मुख्य बाधक बन्ने अनुमान गरेको छ । पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।
बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ । त्यसैगरी व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्र पनि प्रभावित हुने जनाइएको छ ।
कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा पर्ने प्रभाव भने तुलनात्मक रूपमा सीमित रहने अनुमान गरिएको छ । यद्यपि प्रभावित क्षेत्रमा बाढीले जनजीविकामा उल्लेखनीय असर पार्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताए । उनले यो विपद् नेपालका लागि पूर्वाधार तथा आधारभूत सेवाको योजना र संरचनाबारे पुनर्विचार गर्ने अवसरसमेत भएको उल्लेख गरे ।
जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राख्दै पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । नेपाललाई अझ उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी तथा सही नीतिको कार्यान्वयनमा विश्व बैंकले नेपाल सरकारलाई सहयोग गर्ने उनले बताए ।
उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा मात्र सीमित नभई बहुविपद् जोखिमको अद्यावधिक मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्न पनि सुझाव दिइएको छ ।
विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्नुका साथै संकटासन्न घरपरिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्नेमा पनि विश्व बैंकले जोड दिएको छ ।
यसैबीच, पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । यद्यपि सन् २०२७ मा क्षेत्रीय आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनले कृत्रिम बौद्धिकता (एआई) को रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने सम्भावनासमेत औंल्याएको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै निकै पछाडि रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले स्वास्थ्य, शिक्षा र कृषि जस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआईको प्रयोग महत्वपूर्ण सम्भावनाको क्षेत्र रहेको बताइन् ।
