भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न नेपाललाई अनुमति
आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिबीचको अन्तर व्यवस्थापन गर्न नेपालले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। उक्त अनुमतिअनुसार नेपालले दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न सक्नेछ।
प्राधिकरणले आगामी नोभेम्बर १७ (१ मंसिर २०८३) देखि जुलाई ३१, २०२७ (१५ साउन २०८४) सम्म उक्त सुविधा उपयोग गर्न पाउनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् ल्याउन सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदमा विद्युत् व्यवस्थापन गर्न सहज हुने बताएका छन्। उनका अनुसार रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुर्याउँदा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय प्रणालीबाट बाहिरिएका छन्। यसले आगामी हिउँदमा विद्युत् आपूर्तिको चुनौती थपिएको छ।
प्राधिकरणको प्रक्षेपणअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था रहनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् भारतबाट ल्याउनुपर्ने अनुमान छ। त्यस्तै, विद्युत्को उच्च माग हुने समयमा आयातको परिमाण ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने आकलन गरिएको छ। पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात आवश्यक पर्नेछ।
वैशाखदेखि नदीमा पानीको बहाव बढ्न थालेपछि जलविद्युत् उत्पादनमा सुधार आउने र भारतबाट हुने आयात क्रमशः घट्दै जाने प्राधिकरणको अपेक्षा छ। त्यसपछि आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्थामा विद्युत् निर्यातसमेत सुरु हुने अनुमान गरिएको छ।
यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि स्वीकृति प्राप्त गरेको छ। भारतीय ऊर्जा विनिमय बजारमार्फत उक्त परिमाणको विद्युत् आगामी मंसिर १ देखि २०८४ साउन १५ सम्म निर्यात गर्न सकिनेछ।
