विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसबाहेक आजको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
उनका अनुसार, नेपालले अन्य मुलुकहरूसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ‘ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष पठाउन स्वीकृति दिने निर्णय गरेको हो ।
साथै, सरकारले विभन्न देशबाट राजदुतहरु फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।
