विश्वभर ८१ औं संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै
न्युयोर्क । विश्व–व्यापी शान्ति, सहअस्तित्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको मुख्य खम्बा मानिएको संयुक्त राष्ट्रसंघको स्थापना भएको ८१ वर्ष पूरा भएको छ ।
सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको वडापत्र औपचारिक रूपमा कार्यान्वयनमा आएको ऐतिहासिक दिनको स्मरणमा संसारभर विविध चेतनामूलक र औपचारिक कार्यक्रमका साथ ‘संयुक्त राष्ट्रसंघ दिवस’ मनाइँदैछ ।
यस बर्ष विश्वमा शान्ति स्थापना गर्ने र पृथ्वीको स्वास्थ्यबारे बहस गर्न संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेशले आह्वान गरेका छन् । विश्वभर चलिरहेको युद्धको अन्त्य गरी शान्ति स्थापना गर्नु र जलवायु प्रकोप न्यूनिकरणका दीर्घकालिन रणनीतिको रुपमा पृथ्वीको स्वास्थ्य एजेण्डालाई अघि सारिएको हो । नेपालमा दशैं विदाका कारण खासै गतिलो कार्यक्रम आयोजना नगरिएको भएपनि विश्वभर आज विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
दोस्रो विश्वयुद्धको विभिषिका र अपूरणीय क्षतिपछि विश्वलाई पुनः अर्को विनाशकारी युद्धबाट जोगाउन र मानव जातिको रक्षा गर्न ५१ संस्थापक राष्ट्रहरूको अग्रसरतामा संयुक्त राष्ट्र संघको स्थापना भएको थियो। हाल यसका सदस्य राष्ट्रहरूको संख्या १९३ पुगिसकेको छ ।
यस वर्ष विश्वव्यापी मञ्चमा बहुपक्षीयताको आवश्यकता र सान्दर्भिकतामाथि पुनः बहस सुरु भएको छ । विश्वका विभिन्न क्षेत्रमा जारी भू–राजनीतिक तनाव, युद्ध, हतियारको होडबाजी र जलवायु परिवर्तनका कारण निम्तिएको चरम संकटका बीच संयुक्त राष्ट्रसंघको भूमिकालाई अझ प्रभावकारी र सुधारिएको बनाउनुपर्ने आवाज उठिरहेको सन्दर्भमा ८१ औं बार्षिकोत्सव मनाउन लागिएको हो ।
राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले ८१ औं संयुक्त राष्ट्र संघ दिवसको अवसरमा जारी गर्नुभएको सन्देशमा गरिबी निवारण, दिगो विकासका लक्ष्यहरू प्राप्ति, मानव अधिकारको पूर्ण रक्षा र नयाँ प्रविधिको जिम्मेवारपूर्ण प्रयोगका लागि सबै राष्ट्रहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
