संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

तु खबर संवाददाता
२०८३ आश्विन १३, मंगलवार ०८:३२
फोटोः परराष्ट्र मन्त्रालय, नेपाल

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा डा। रहमानलाई बधाई दिदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै,उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो। सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्‍याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

यस अघि परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् ।