परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

तु खबर संवाददाता
२०८३ कार्तिक १९, बुधबार १९:३६

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको सम्बन्ध र सहकार्यसहित ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विविध विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा. वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुवैले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका छन् ।

भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु पनि सहभागी थिए ।