अस्ट्रेलियाले नेपाललाई थप १ करोड ५० लाख अष्ट्रेलियन डलर सहयोग गर्ने

तु खबर संवाददाता
२०८३ आश्विन २२, बिहीबार १९:५१

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग मेलबर्नमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, बाढीपछिको पुनःस्थापना, जलवायु परिवर्तन, नेपाली विद्यार्थी, शिक्षा तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ।

भेटमा नेपालका तर्फबाट हालैको विनाशकारी बाढीपछि अस्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद दिइएको थियो। त्यस अवसरमा अस्ट्रेलियाले नेपालमा बाढीपीडितको राहत तथा प्रारम्भिक पुनःस्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। यसअघि अस्ट्रेलियाले १ करोड १० लाख डलर सहयोग गरेको थियो।

वार्तामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभावबारे पनि छलफल भएको छ। नेपालले हिमाली पारिस्थितिक प्रणालीमा परेको जलवायु संकटको असमान प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउन अस्ट्रेलियासँग आग्रह गरेको छ। साथै पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माणमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

नेपाली विद्यार्थी र अस्ट्रेलियामा रहेको नेपाली समुदायले त्यहाँको समाज तथा अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे समेत छलफल भएको छ। नेपालले हालैका विद्यार्थी भिसा नीतिमा भएका परिवर्तनबाट वास्तविक नेपाली विद्यार्थीलाई सहज हुने गरी सकारात्मक विचार गर्न अस्ट्रेलियासँग आग्रह गरेको छ। त्यस्तै नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम संस्था र विश्वविद्यालयका क्याम्पस स्थापना गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।

दुवै पक्षले व्यापार, वैदेशिक लगानी, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्। नेपाल र अस्ट्रेलियाबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने प्रयासलाई समेत तीव्रता दिने सहमति भएको छ। भेटमा दुई देशबीच नियमित उच्चस्तरीय संवादलाई निरन्तरता दिँदै आपसी हितका विषयलाई ठोस परिणाममा परिणत गर्ने सहमति भएको छ।