राष्ट्रसंघ महासचिव गुटेरेस र प्रधानमन्त्री शाहबीच भेटवार्ता

तु खबर संवाददाता
२०८३ आश्विन ९, शुक्रबार ०४:२०
तस्बिरः राजन काफ्ले / खसोखास

गिरिजा अधिकारी, न्युयोर्क ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले भोटेकोशी बाढीले पारेको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । राष्ट्रसंघको ८१ औँ महासभाका सन्दर्भमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा महासचिव गुटेरेस र नेपालका प्रधानमन्त्री शाहबीच भएको भेटवार्तामा महासचिव गुटेरेसले जलवायु सम्बन्धी मुद्धामा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए । भेटमा भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।

महासभामा सहभागी हुन हिजो न्युयोर्क आइपुगेका प्रधानमन्त्री शाहले आज महासचिव गुटेरेससित भेटघाट गरेका हुन् । यस पछि प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्ने तय भएको छ । नेपाली समय अनुसार करीव ७ बजे शाहले सम्बोधन गर्नेछन् ।

रसुवा भोटेकोशी बाढीपछि नेपालले व्यहोरेको क्षति जलवायु परिवर्तनका कारण भएको निश्कर्षसहित संयुक्त राष्ट्रसंघमा प्रभावकारी रुपमा विषयहरु उठाउन नेपालको प्रधानमन्त्री नै महासभामा सहभागी हुनुपर्ने धारणा बनेपछि प्रधानमन्त्री शाह न्युयोर्क आइपुगेका हुन् ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले द्विपक्षीय भेटघाटलाई तिब्रता दिइरहेका छन् । भुटानका प्रधानमन्त्री समेत विभिन्न देशका परराष्ट्रमन्त्रीसित भेटेर खनालले नेपालले हालै बाढीका कारण भोगेको क्षति, क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण लगायतका नेपालको हीतमा सहकार्यको आग्रह गरेका छन् ।

हिजो नेपाल आइपुगेका शाहलाई संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महाबाणिज्यदुत दधिराम भण्डारी, नेपाली राजदुतावास वासिङ्टन डीसीका शरदराज आरण लगायतका कुटनीतिज्ञहरुले स्वागत गरेका थिए ।