नेपालमा सुशासनको अवस्थाबारे आईएमएफले अध्ययन गर्ने

गिरिजा अधिकारी
२०८२ माघ ९, शुक्रबार ०९:३९

वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा सुशासनको अवस्था र भ्रष्टाचारका जोखिमहरू पहिचान गर्न ुसुशासन र भ्रष्टाचार नियन्त्रण’ सम्बन्धी प्रक्रिया सुरु गरेको छ।

नेपाली अधिकारीहरूको विशेष अनुरोधमा जोनाथन पाम्पोलिनाको नेतृत्वमा गएको आईएमएफको प्राविधिक सहायता टोलीले जनवरी १२ देखि २१ सम्म काठमाडौँमा बसेर आफ्नो प्रारम्भिक मिसन सम्पन्न गरेको आइएमएफले जनाएको छ। यस अध्ययनले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याइरहेका सुशासनका कमजोरीहरू पत्ता लगाउने र त्यसलाई सुधार्न क्रमिक कार्ययोजना तयार पार्ने लक्ष्य राखेको छ।

भ्रमणका क्रममा आईएमएफको टोलीले नेपालका महत्वपूर्ण सरकारी निकायहरू र संवैधानिक अंगहरूसँग सघन छलफल गरेको छ। टोलीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय योजना आयोग लगायतका दुई दर्जनभन्दा बढी निकायका प्रतिनिधिहरूसँग भेटघाट गरेको थियो। छलफल विशेषगरी सार्वजनिक वित्त व्यवस्थापन, राजस्व प्रशासन, वित्तीय क्षेत्रको सुपरीवेक्षण, विधिको शासन, र सम्पत्ति शुद्धीकरण निवारण ९ब्ःीरऋँत्० जस्ता मुख्य क्षेत्रहरूमा केन्द्रित रहेको थियो।

टोलीले सरकारी संयन्त्रबाहेक निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग पनि भेट गरी नेपालको सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रयासहरूबारे जानकारी लिएको छ। आईएमएफले नेपालको भ्रष्टाचार विरोधी कानुनी र संस्थागत संरचनाले मुलुकको बृहत् आर्थिक उद्देश्यहरू प्राप्त गर्न कत्तिको सहयोग पुर्‍याएको छ भन्ने विषयलाई समेत प्राथमिकतामा राखेर अध्ययन गर्ने जनाएको छ।

यसपछि मुख्य मिसन नेपाल जाने तयारीमा छ । सो मुख्य मिसनले नेपालमा भ्रष्टाचारको प्रकृति र गम्भीरताको गहिरो विश्लेषण गरी एउटा विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने तयारी समेत गरेको छ। सोही प्रतिवेदनका आधारमा सुशासन सुदृढ गर्न र आर्थिक पारदर्शिता कायम गर्नका लागि प्राथमिकताका आधारमा सुधारका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइने आईएमएफले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ ।