अमेरिकाद्वारा नेपालमा बाढीबाट भएको क्षतिमा दुख व्यक्त
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रसुवा बाढीबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका छन् । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताको तर्फबाट शुभकामना दिँदै विदेशमन्त्री रुबियोले हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै घाइते र प्रभावित परिवारमा समवेदन व्यक्त गरेका हुन् ।
रसुवामा आएको अप्रत्यासित र भीषण बाढीका कारण प्रभावित अमेरिकी नागरिकप्रति पनि रुबियोले चिन्ता व्यक्त गरेका छन् । बाढीका कारण ७० जना अमेरिकी नागरिक सम्पर्कबिहीन भएका छन् भने हजारौँ नेपाली नागरिकको ज्यान गएको छ ।
बाढी लगत्तै नेपालका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको अमेरिकी विदेशमन्त्रीले संविधान दिवशमा पनि नेपालको बाढी त्यसबाट प्रभावितहरुको पक्षमा चिन्ता व्यक्त गरेका हुन् । नेपालमा भइरहेको उद्धार कार्यमा अमेरिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता पनि विदेशमन्त्री रुबियोले गरेका छन् ।
नेपाल र अमेरिकाबीचको दशकौं पुरानो सम्बन्ध रहेको स्पस्ट पार्दै रुबियोले आगामी दिनमा पनि सहकार्य गर्दै दुबै देशको हितलाई अझ सुदृढ बनाउन अमेरिका उत्सुक रहेको बताएको न्युयोर्कबाट संचालित प्रतिष्ठित मिडिया खसोखास ले लेखेको छ ।
बाढीपछि ज्यान गुमाउनेहरुको पहिचान गर्न पनि अमेरिकी सरकारले नेपाललाई आवश्यक आर्थिक तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । विदेश मन्त्रालयले यसअघि मिडिया नोट जारी गर्दै डीएनए परीक्षणका लागि नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । अमेरिकाले यसका लागि दश लाख अमेरिकी डलरको सहायता स्वीकृत गरेको थियो । यस समेत गरी मानवीय र स्वास्थ्य सहायताका लागि ५० लाख अमेरिकी डलरभन्दा बढीको सहयता प्रदान गरिसकेको विदेश मन्त्रालयले जनाएको छ ।
बाढीबाट प्रभावित १० हजारभन्दा बढी परिवारलाई ३० लाख अमेरिकी डलर बराबरको खाद्यन्न र यसको ढुवानीका लागि अमेरिकाले सहयोग उपलब्ध गराएको छ । साथै विभिन्न स्वास्थ्य सहयता पनि उपलब्ध गराएको छ ।
अमेरिकी सेनाले नेपालको अधिकारीहरुको सहकार्यमा हुने खोजी तथा पुर्नस्थापना कार्यका लागि ५ हजार विपद् उद्दार सामग्री, ५ सय थान उपचार किट, स्टेचर लगायतका समग्री पनि उपलब्ध गराएको छ ।
