मध्यावधि चुनाव जिते प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचनमा काँग्रेसका दुबै सदनमा रिपब्लिकन पार्टीले जीत हासिल गरेमा प्रत्येक अमेरिकी नागरिकलाई ५ हजार डलर लाभांश दिने घोषणा गरेका छन् ।
रिपब्लिकन पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचनमा काँग्रेसको दुबै सदनमा रिपब्लिकन पार्टीले जित हासिल गरेमा सो रकम दिने घोषणा गरेका हुन् । सम्बोधन क्रममा उनले यसरी दिइने लाभांश अमेरिकाभित्रै खर्च हुनुपर्ने बताए पनि घोषणा गरिएको रकम कसरी खर्च गरिने छ र त्यसको स्रोत के कसरी व्यवस्था हुन्छ भन्ने बारे केही बताएनन् ।
विदेशी वस्तुहरुको आयातमा भारी मात्रामा लगाइएको करबाट यो रकम खर्च गरिने संकेतहरु आएपनि राष्ट्रपति ट्रम्पले भने यसबारे केही बताएका छैनन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न ट्रम्पद्वारा घोषणा गरिएको यो योजना विवादमा पर्ने देखिएको छ । यस अघिका कुनै पनि अमेरिकी राष्ट्रपतिहरुले निर्वाचनलाई प्रभावित पार्ने गरी यसरी नगद दिने घोषणा गरेका थिएनन् ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेको यो योजनाका लागि १.३ ट्रिलियन डलरभन्दा बढी खर्च हुने बताइएको छ ।
ट्रम्पको यो घोषणको अमेरिकी सांसद तथा अर्थविद्हरुले विरोध गरिरहेका छन् । कतिपय रिपब्लिकनहरुले पनि ट्रम्पको यो योजनाको खुलेर विरोध गरिरहेका छन् । सरकारमा अहिलेसम्म कै सबैभन्दा झुट बोल्ने व्यक्ति भएको भन्दै उनको विरोध भएको छ । आफ्नो भोट ५ हजार डलरमा किन्न खोजिएको भन्दै एक जना रिपब्लिकन सांसदले यसले महंगी मात्र बढाउने टिप्पणी गरेका छन् । सांसद रोबर्ट गार्सिया, चिप चोय, अर्थशास्त्री पिटर शिपले पनि यो योजनाको विरोध गरेका छन् ।
