नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारीमा मेगन बोल्डिन
मेगन बोल्डिनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै केही महिनाका लागि उनले कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।
दूतावासका अनुसार बोल्डिनको प्राथमिकता नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकको उद्धार तथा सहयोगमा केन्द्रित हुनेछ । उनले नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछिन् ।
बोल्डिन यसअघि बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा कार्यरत थिइन् । उनी सन् २०२४ को अगस्टदेखि त्यहाँ नियोग उपप्रमुखका रूपमा जिम्मेवारीमा थिइन् ।
वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ । उनले युक्रेन, इराक, बंगलादेश तथा वासिङ्टनस्थित अपरेसन्स सेन्टरलगायतका स्थानमा काम गरिसकेकी छन् ।
नेपालमा राहत तथा उद्धारका काम जारी रहेका बेला बोल्डिनको आगमनले नेपाल सरकार तथा साझेदारहरूसँग नजिक रहेर काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।
