भोटेकोशी बाढीपीडितका लागि सहयोग हस्तान्तरण

तु खबर संवाददाता
२०८३ आश्विन ११, आईतवार ०८:०९
तस्बिरः खसोखास

रसुवा भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका नेपाली संस्थाहरूले करिब ३ करोड रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका आएका बेला न्युयोर्कमा आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।

अमेरिकामा क्रियाशील तीनवटा संस्थाहरूले जम्मा २ लाख २६ हजार अमेरिकी डलर सहयोग जुटाएर मन्त्री खनाललाई हस्तान्तरण गरेका हुन् ।

एनएच नेपाली समाज (न्यु ह्याम्पसायर), अमेरिका नेपाल हेल्पिङ सोसाइटी भर्जिनिया र गुरुङ सोसाइटी इन्क यूएसएले यो सहयोग उपलब्ध गराएको हो ।

गत महिना रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। संकटको यस घडीमा प्राप्त यो सहयोगले पीडितहरूको उद्धार, राहत र दीर्घकालीन पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री खनालले बताएका छन् ।