बाढीमा सम्पर्कविहीन विद्युत् प्राधिकरणका ६ कर्मचारीका परिवारलाई राहत
गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन भएकामा हालसम्म ६ जनाका परिवारले राहत रकम प्राप्त गरेका छन् ।
प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म सम्बन्धित कर्मचारीको पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ । राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रह गरिएको छ ।
प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यसैगरी, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ ।
