बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि आरुघाट बजार खाली गराइयो
बूढीगण्डकी नदीमा आकस्मिक रूपमा ठूलो बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।
नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। नदीको बहाव बढ्दै जाँदा आरुघाट बजारसहित आसपासका नदी तटीय बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित बाढीबाट मानवीय क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।
गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा पानीको सतह खतरा तहभन्दा माथि पुगेपछि त्रिशूली नदी आसपासका क्षेत्रसहित चितवन र नवलपरासीका नदी तटीय बस्तीमा समेत जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ९.५२ बजे गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीको जलसतह ८.४३ मिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह ४.५ मिटर र खतरा तह ५ मिटर निर्धारण गरिएको छ। नदीको जलसतह खतरा तहभन्दा ३.४३ मिटर माथि रहेको छ भने बहाव बढ्दो क्रममा छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। उक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ। मुग्लिनसम्मको क्षेत्र उच्च जोखिममा रहेकाले त्यहाँका नागरिकलाई उच्च सतर्कतामा रहन भनिएको छ।
