नेपाल र भारतबीच आठ विषयमा समझदारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा विभिन्न आठवटा विषयमा भारतसँग समझदारी भएको छ। शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता भएको छ भने विभिन्न आठवटा विषयमा समझदारी समेत भएको छ ।
समझदारी अनुसार, फरेन्सिक विज्ञानमा सहकार्य हुनेछ । भारतस्थित गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य समझदारी भएको छ ।
त्यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिने गरी पनि समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन् भने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ। दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
त्यस्तै, भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन् भने दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।
नेपाललाई भारतको दुई खर्ब ४० अर्ब सहयोग घोषणा
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। तर उक्त सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्नेबारे भने स्पष्ट पारिएको छैन।
नेपालले भारतसँग दुई खर्ब आर्थिक सहयोग माग गरेको थियो। त्यसमध्ये एक खर्ब सहुलियतपूर्ण ऋण र एक खर्बअनुदानका रूपमा उपलब्ध गराउन नेपालले प्रस्ताव गरेको थियो। भारतले नेपालले प्रस्ताव गरेअनुरूप नै सहयोग घोषणा गरेको बताइएको छ।
नेपालको प्रस्तावअनुसार अनुदानतर्फको एक खर्बमध्ये ५० अर्ब रसुवामा बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो। बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि सहयोग मागिएको थियो।
