प्रधानमन्त्री बालेन्द्र शाह र सातै मुख्यमन्त्रीबीच छलफल हुँदै

तु खबर संवाददाता
२०८३ बैशाख ३, बिहीबार १०:५१
file-photo

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै छन्।दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रदेशका विभिन्न समस्या, विकास निर्माणका कामलाई तीव्रता दिने उपाय तथा स्रोत–साधनको समुचित बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्र र प्रदेशबीच सहकार्यलाई कसरी थप सुदृढ बनाउने, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, साथै आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयास गरिनेछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, छलफलको मुख्य उद्देश्य मुख्यमन्त्रीहरूको धारणा सुन्ने र प्रदेशहरूले भोगिरहेका प्रशासनिक तथा आर्थिक चुनौतीहरूको पहिचान गर्नु हो। प्रधानमन्त्रीले सरकारका प्राथमिकता र दृष्टिकोणसमेत बैठकमा प्रस्तुत गर्नेछन्।छलफलमा सुदूरपश्चिमका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह (यादव) र कोशीका हिक्मत कार्की सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह संघीयतालाई थप प्रभावकारी बनाउँदै जनतासम्म प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा काम गर्नुपर्ने पक्षमा रहेको बताइन्छ। यसका लागि आवश्यक कानुनी, नीतिगत र संरचनागत सुधारका विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।यसअघि प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा निर्वाचित सांसदहरूसँग र समानुपातिक सांसदहरूसँग पनि छलफल गरिसकेका छन्। आजको बैठकलाई संघीयता कार्यान्वयनलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।