तीन दल मिलेर प्रदेश सरकार बनाउनु जनादेशविपरीत : गगन थापा

तु खबर संवाददाता
२०८३ श्रावण ३, आईतवार ११:४८
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा प्रमुख तीन राजनीतिक दल मिलेर सरकार गठन गर्ने प्रस्ताव लोकतान्त्रिक अभ्यास र जनादेशविपरीत हुने बताएका छन्। उनले यस्तो अभ्यासले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने भएकाले कांग्रेसले त्यसमा कुनै पनि हालतमा सहमति नजनाउने स्पष्ट पारेका छन्।

ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउने प्रस्ताव आएको जानकारी दिए। तर, यस्तो समीकरणले जनताले निर्वाचनमार्फत दिएको म्यान्डेटको सम्मान नगर्ने भन्दै कांग्रेसले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए।

‘तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभामा प्रतिपक्ष नै रहँदैन। लोकतन्त्रमा सत्तापक्ष जति आवश्यक हुन्छ, त्यति नै बलियो प्रतिपक्ष पनि आवश्यक हुन्छ,’ थापाले भने, ‘सरकारमा जानका लागि मात्र कांग्रेसले आफ्ना सिद्धान्त त्याग्दैन।’

उनले पछिल्ला वर्षहरूमा नेपाली राजनीति अत्यधिक सत्ता केन्द्रित बन्दै गएको टिप्पणी गर्दै सत्ता प्राप्तिलाई नै अन्तिम उद्देश्य बनाउने प्रवृत्तिले राजनीतिक अस्थिरता र जनविश्वासमा गिरावट ल्याएको बताए।

‘सत्ता नै सबैथोक हो भन्ने सोचले राजनीति कमजोर बनाएको छ। आज सत्तामा रहेको दल भोलि प्रतिपक्ष र प्रतिपक्षमा रहेको दल अर्को दिन सरकारमा पुग्ने प्रवृत्तिले राजनीतिक दलहरूको विश्वसनीयतामै प्रश्न उठाएको छ,’ उनले भने।

थापाले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कै दलसँग सत्ता साझेदारी गर्ने अभ्यासले जनादेशको मर्मलाई कमजोर बनाएको उल्लेख गर्दै अब कांग्रेसले सत्ता भन्दा विचार, नीति र लोकतान्त्रिक मूल्यलाई प्राथमिकतामा राख्ने बताए।

विगतमा कांग्रेसले पनि सत्ताकै लागि केही निर्णयमा सम्झौता गरेको स्वीकार गर्दै उनले अब त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाए। ‘सत्ता प्राप्ति राजनीतिको अन्तिम लक्ष्य होइन। जनताको विश्वास, लोकतान्त्रिक मूल्य र पार्टीका सिद्धान्तको रक्षा नै कांग्रेसको पहिलो दायित्व हो,’ उनले भने।

कार्यक्रममा थापाले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा पनि जोड दिए। युवाको ऊर्जा र अग्रजहरूको अनुभवलाई संयोजन गरेर मात्रै पार्टीलाई समयअनुकूल र सुदृढ बनाउन सकिने उनको भनाइ थियो।

आफ्नो राजनीतिक यात्राको सुरुआती अनुभव सुनाउँदै थापाले २०५१ सालको मध्यावधि निर्वाचनताका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा ल्याएर कार्यक्रम आयोजना गरेको प्रसंग स्मरण गरे। त्यही क्रममा भट्टराईबाट आफूले राजनीतिक पद क्षणिक भए पनि निष्ठा, चरित्र र सामाजिक विश्वास स्थायी सम्पत्ति हुने शिक्षा पाएको उनले बताए।

यसैबीच, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ। एमालेसँग भएको पूर्वराजनीतिक समझदारीलाई निरन्तरता नदिने कांग्रेसको निर्णयसँगै कर्णालीसहित विभिन्न प्रदेशमा नयाँ सत्ता समीकरणबारे राजनीतिक गतिविधि तीव्र बनेका छन्।