धोबीखोला करिडोरमा डोजर, विवादित साततले घर भत्काउन सुरु
काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा रहेको एक साततले भवन भत्काउने कार्य सुरु गरिएको छ। सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएको आरोपमा आइतबार बिहानदेखि उक्त घरमा डोजर चलाइएको हो।भत्काउनुअघि सुरक्षाकर्मीले भवनभित्र रहेका सामग्रीहरू बाहिर निकालिरहेका थिए। हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ।
राजधानीको अनामनगरस्थित यो साततले भवन सामाजिक सञ्जालमा पनि यतिबेला निकै चर्चामा रहेको छ। मापदण्डविपरीत निर्माण गरिएको दाबी गर्दै सरकारले कारबाही अघि बढाएपछि यो विषय व्यापक रूपमा भाइरल बनेको हो।सरकारी अधिकारीहरूका अनुसार धोबीखोला मिचेर निर्माण गरिएको पुष्टि भएपछि भवन भत्काउने निर्णय गरिएको हो। भवनमा रेस्टुरेन्ट, बार, स्पा लगायतका विभिन्न व्यवसाय सञ्चालनमा रहेका थिए।
यता घरधनी इन्द्र चाम्लिङले भने आफूले कानुनअनुसार नै घर निर्माण गरेको दाबी गरेका छन्। उनका अनुसार जग्गाको लालपुर्जा, नक्सापास लगायतका सबै आवश्यक कागजातहरू पूरा गरेर मात्र निर्माण गरिएको हो। उनले ती कागजातहरू घरबाहिर सार्वजनिक रूपमा टाँसेका पनि थिए।चाम्लिङले उच्च अदालतले समेत उक्त जग्गा सरकारी नभएको आदेश दिएको दाबी गर्दै आएका छन्। तर सरकारी पक्षले भने अतिक्रमण भएको निष्कर्षसहित भवन भत्काउने प्रक्रिया अघि बढाएको जनाएको छ।
