संसद् अधिवेशन स्थगनप्रति प्रदीप पौडेलको प्रश्न-सरकारको आत्मविश्वास किन कमजोर?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनप्रति गम्भीर प्रश्न उठाएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा अधिवेशन स्थगित गरिएपछि उनले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले यस्तो निर्णयले सरकारको नियत र प्रक्रियामाथि शंका उत्पन्न गरेको बताएका छन्। उनका अनुसार, बलियो बहुमत र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि संसदलाई विश्वासमा लिएर अघि बढ्नु पर्ने सरकार अध्यादेशको बाटो रोज्न खोजेको हो कि भन्ने आशंका पैदा भएको छ। उनले प्रश्न उठाएका छन्, “सहज संसदीय अंकगणित हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर देखिएको हो?” लोकतान्त्रिक व्यवस्थामा विधि र प्रक्रियाको पारदर्शिता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै पौडेलले प्रक्रिया मिचेर परिणाम खोज्नु पद्धति र संसदीय मर्यादाको अवमूल्यन भएको टिप्पणी गरे। अन्त्यमा उनले जननिर्वाचित संस्थाको गरिमा जोगाउन र संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी ढंगले अघि बढ्न सरकारसँग आग्रह गरेका छन्।
