कांग्रेसले बोलायो प्रदेशस्तरीय बैठक,समसामयिक राजनीति मुख्य एजेन्डा

तु खबर संवाददाता
२०८३ बैशाख ४, शुक्रबार ११:०४

काठमाडौं — नेपाली कांग्रेस ले सातै प्रदेशका पार्टी सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग समन्वयात्मक छलफल गर्ने भएको छ। पार्टीले वैशाख ६ गते (आइतबार) केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो। बैठकको समय भने अझै तय हुन बाँकी रहेको प्रवक्ता देवराज चालिसे ले जानकारी दिए।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मा लाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ। सोही सन्दर्भमा प्रदेशस्तरीय नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न बैठक आह्वान गरिएको हो।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी नेतृत्वमा रहेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने उपाय तथा केन्द्र–प्रदेश समन्वयका विषयमा छलफल हुने जनाइएको छ।

यसैबीच, गण्डकी प्रदेश मा मन्त्री फेरबदलको विषयले पार्टीभित्र विवाद चर्किएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले केन्द्रीय नेतृत्वसँग पर्याप्त परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लागेको छ। पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट मानिने पाण्डेको उक्त कदमले पार्टीभित्र असन्तुष्टि बढाएको स्रोतले जनाएको छ।

कांग्रेस नेतृत्वले आगामी बैठकमार्फत आन्तरिक समन्वय सुदृढ गर्दै प्रदेश र स्थानीय तहमा पार्टीको कामकारबाहीलाई प्रभावकारी बनाउने अपेक्षा गरेको छ।