एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन

तु खबर संवाददाता
२०८२ चैत्र १८, बुधबार १६:४८
file photo

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकपछि भएको प्रक्रियामा उनी एक्लो उम्मेदवार बनेपछि निर्विरोध रूपमा चयन भएका हुन्।

निर्वाचन समितिका संयोजक निरज आचार्यका अनुसार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। प्रारम्भमा इलाम-२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गर्दै फारम लगेका थिए। तर, अन्तिम समयमा प्रस्तावक र समर्थकको अभाव भएपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन् र पछि दाबी फिर्ता लिएका थिए।

सुहाङले यसअघि संसदीय दलको बैठकमा युवालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्दै आफूले पनि नेतृत्व लिन चाहेको बताएका थिए। तर, प्रक्रियागत कारणले उनको उम्मेदवारी अघि बढ्न सकेन।एमालेले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन सकेन। पार्टीले कुल २५ सिट मात्र जित्दा अध्यक्ष केपी शर्मा ओलीसहितका धेरै शीर्ष नेताहरू पराजित भएका थिए।नवनिर्वाचित दल नेता थापा समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्। उनी पार्टीको पहिलो वरीयताको उपाध्यक्ष समेत हुन् र अध्यक्ष ओलीको समर्थन पनि उनलाई प्राप्त रहेको बताइएको छ।