नारायण गोपालको ३६औँ पुण्यतिथिमा हेटौँडामा ‘स्मृति सङ्गीत समागम–२०८३’ आयोजना हुने

तु खबर संवाददाता
२०८३ मंसिर ११, बिहीबार २०:५३

हेटौँडा । नेपाली सुगम सङ्गीतका स्वरसम्राट् स्वर्गीय नारायण गोपालको ३६औँ पुण्यतिथिको अवसरमा हेटौँडामा विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ। पि।एम। सेन्टर, सङ्गीत विभाग, हेटौँडा–२ को आयोजनामा आगामी मङ्सिर १९ गते शनिबार ‘नारायण गोपाल स्मृति सङ्गीत समागम–२०८३’ हुन लागेको हो। हेटौँडा–४ स्थित पशुपति भुवनेश्वर मन्दिरको सभाहलमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा स्थानीय तथा आमन्त्रित गरी एक दर्जनभन्दा बढी कलाकारहरूले स्वरसम्राट्का कालजयी गीतहरू गुञ्जाउनेछन्। बाल कलाकारदेखि स्थापित कलाकारसम्म एउटै मञ्चमा उभिने यस कार्यक्रमले नयाँ पुस्ताका प्रतिभालाई नेपाली सुगम सङ्गीतसँग जोड्दै पुस्तान्तरणको प्रयास गर्ने लक्ष्य राखेको छ। साथै, कार्यक्रममा स्वर्गीय गोपालको तस्बिरमा माल्यार्पण गर्नुका साथै उनको जीवन, व्यक्तित्व र उनले नेपाली सङ्गीतमा पुर्‍याएको योगदानबारे विशेष चर्चा गरिनेछ।

कार्यक्रम संयोजक गहन खतिवडाका अनुसार कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। तर, सभाहलमा सिट सङ्ख्या सीमित रहेकाले आयोजकले व्यवस्थित बसाइका लागि प्रवेश पासको व्यवस्था गरेको छ। विगत आठ महिनादेखि पशुपति भुवनेश्वर मन्दिर परिसरमा नियमित साप्ताहिक भक्ति सङ्गीत कार्यक्रम सञ्चालन गर्दै आएको पिएम सेन्टरले नेपाली मौलिक कला, संस्कृति तथा सुगम सङ्गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो समागम आयोजना गर्न लागेको हो।

आयोजकले सम्पूर्ण सङ्गीतप्रेमी, साहित्यकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई नेपाली सङ्गीतका अमर साधकप्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक निमन्त्रणा गरेको छ।