मन्त्रालयलाई नै थाहा छैन प्रदेशको नाम बागमती !

तु खबर संवाददाता
२०७६ माघ १, बुधबार १६:११
प्रदेशकै महत्वपूर्ण मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा प्रदेशको नाम सच्याएको छैन ।

हेटौंडा, १ माघ । दुनियाँलाई थाहा छ, २७ पुस २०७६ देखि ३ नं. प्रदेशको राजधानी हेटौंडा हो र यसको नाम बागमती प्रदेश हो ।

अचम्म मान्नु होला, बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयदेखि मन्त्रालयहरुले नै यसको नाम बागमती प्रदेश हो भन्ने कुरा थाहा पाएका छैनन् । तु खबरले प्रदेशका कुन–कुन सरकारी निकायले यसबारे थाहा पाएका होलान भनी खोजी गर्ने क्रममा प्रदेश मन्त्रालयहरु नै यसबारे अनभिज्ञ रहेको पाइएको छ ।

जनताले हरेक दिन खोजी गर्ने प्रदेश प्रमुख कार्यालयदेखि मन्त्रालयका आधिकारिक वेभसाइटमा अझै पनि ३ नं. प्रदेश नै छ । यसअर्थमा जनताले प्रदेशको नाम ३ नं. प्रदेश भनेर बुझ्ने की बागमती प्रदेश । प्रदेश प्रमुख कार्यालयदेखि मन्त्रालयहरुलाई प्रदेशको नाम बागमती थाहा नभएकै हो ?

अझै अचम्मको कुरा के छ भने, जहाँ बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम बागमती राख्यो त्यही प्रदेशसभा सचिवालयलाई पनि प्रदेशको नाम बागमती थाहा छैन । मुख्यमन्त्री डोरमणि पौडेलले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पनि प्रदेशको नाम थाहा छैन ।

हेर्नुहोस फोटो

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले भने प्रदेशको नाम बागमती भएको थाहा पाएका छन् । यी दुवै मन्त्रालयले आफ्ना वेभसाइटमा सच्याएर बागमती प्रदेश बनाइसकेका छन् ।

तर, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र नीति तथा योजना आयोगले अझै प्रदेशको नाम थाहा पाएको छैन ।

लेटरप्याडमा बागमती, छापमा प्रदेश नं. ३

प्रदेशकै महत्वपूर्ण मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लेटरप्याडमा त्रुटी गरेको छ ।

मन्त्रालयको लेटरप्याडमा बागमती प्रदेश लेखिए पनि छापमा भने सच्याएको छैन । बागमती प्रदेश लेखिएको लेटरप्याडमा छाप भने प्रदेश नं. ३ लेखिएको लगाइएको छ ।

 

यो पनि हेर्नुहोस् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*