बधाई राजधानी हेटौँडा

२०७६ पुष २७,आईतवार २०:२६

२७ पुस पृथ्वीनारायण साहको जन्मदिन हो, संयोगले यही दिन बागमती प्रदेशको औपचारिक न्वारन भएको छ । संयोग यस कारण कि पृथ्वीनारायण साहले नै मकवानपुर राज्यको अस्तित्वलाई समाप्त पारेका थिए र आधुनिक नेपालको इतिहास निर्माण हुँदा यहाँको मकवानपुरगढीले आफ्नो राजधानीत्व गुमाएको थियो ।

मकवानपुरगढी गुमाएको अढाई शताब्दीपछि मुटु कमाउने जाडो महिनामा उही गढी थुम्कोले आफ्नो हृदयमा शीतलता प्राप्त गरेको छ प्रदेशसभामा भएको तालीको गडगडाहटले । हेटौँडामा रहेको प्रदेशसभामा उपस्थित जनप्रतिनिधिहरुले हेटौँडालाई राजधानी घोषित गरेको छ ।

गढीले शिरमा घाम थापेर बागमती नदीतिर आफ्नो विस्फारित नजरले छङछङ बगिरहेको पानीलाई हेर्दै आफ्नो विगत सम्झिरहेको वेला यसैलाई प्रदेशको नाम घोषणा भयो ।

यो प्रदेशको नाम बागमती राख्दा मकवानपुरगढीले मकवानपुर राज्य हुँदा आफ्नो पवित्र नदीको छङछङमा डुबुल्की मारेको अनुभूति हुन्थ्यो ।

बागमतीलाई नदीको रुपमा मात्र नभई यस क्षेत्रको सम्पूर्ण धर्म, संस्कृति, सभ्यता तथा जीवनशैलीमा बागमती पाउने गढीले अब फेरि बागमती सभ्यताले पुनर्जीवन पाउने आशा देखेको छ ।

सिक्रीले बाँधिएका श्रीकृष्ण मकवानपुरगढीको मन्दिरमै मुस्कुराएका छन् । मुस्कुराहटले सिंगो डाँडा नै चम्किएको छ । उही तोरी फुल्ने मौसम जो छ । यो मौसम गढीका श्रीकृष्णलाई औँधी प्यारो छ ।

आजको दिन श्रीकृष्णको मुस्कुराहटले तोरीको फूलमा पनि चमक देखिएको छ । बागमती प्रदेशको प्रदेशसभामा गुन्जिएको तालीको गडगडाहट जब बतासमा मिसिएर तोरीको फूलको गालामा स्पर्श गर्यो, हल्लिएर एक छिन श्रीकृष्णतिर आफ्नो टाउको घुमाउँदै फेरि कतै आफ्नो सुगन्ध फैलिने युग आएको पो हो कि भन्ने आशावादी नजरले हेरेको थियो ।

पुस २७ ले प्रदेश ३ मा नयाँ इतिहास सुरु भएको छ । यो एउटा संयोग पनि होला कि आगामी दिन दुई किसिमको दृश्य देखिने छन् ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौँडा प्रस्ताव गर्ने मकवानपुरे नेता कमल थापा र उनको दलले एकातिर पृथ्वी वा एकता दिवस जयन्ती मनाइरहेका हुनेछन् भने अर्कोतिर हेटौँडाले बागमती दिवस र राजधानीको स्थापना दिवस मनाइरहेका हुनेछन् ।

महाभारत र चुरे पर्वतको बीचमा महाभारतकै पात्र हिडिम्बको नाममा बसेको सहर हेटौँडा अब बागमती सभ्यताको परिचायक बन्दै बागमती प्रदेशको राजधानी बन्न पुगेको छ । पहिले नारायणी अंचलमा रहेको हेटौँडा अब बागमती प्रदेशको राजधानी बनेको छ ।

वर्तमान बागमती प्रदेशको राजधानी हेटौँडालाई मध्यमा पार्न नेकपाका एकजना शीर्षस्थ नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले पर्सा, बारा र रौतहटलाई पनि यसै प्रदेशमा मिलाउन सकिने सम्भावना पनि व्यक्त गरेका थिए ।

यसले पहिलेको नारायण अंचलको पनि सम्बन्धलाई पुनः परिभाषित गर्न खोजेको छ । बागमती प्रदेशको राजधानी हेटौँडा रहेको जिल्ला मकवानपुर हो । पुरानो हिसाबले हेर्ने हो भने पर्सा, बारा र रौतहट मकवानपुर राज्यकै अंग हुन् ।

हेटौँडाले घोषणा गरेको बागमती प्रदेशको सिमाना जोडिएको, मकवानपुर जिल्लासित सिमाना जोडिएको र राजधानी हेटौँडासित पनि सिमाना जोडिएको जिल्ला पनि हुन् ।

सिमाना जोडिएकोले छिमेकी तर पहिलेको नारायणी अंचलमा भएकोले भावनात्मक सम्बन्ध जोडिएको भूगोल पनि हो । अहिले पनि शिक्षक सेवा आयोगले यी तीन जिल्लालाई मध्यमांचलमा राखेर आफूसित नाता कायमै राखेको छ ।

यी तीन जिल्लाको कक्षा ११ र १२ को परीक्षा हेर्ने कार्यालय पनि हेटौँडामा नै रहेको छ । हेटौँडाको सम्बन्ध यी तीन जिल्लासित अद्यापि रहेको छ ।

यी तीन जिल्ला मधेस हो । मधेस आन्दोलनकै बलमा देशमा संघीयताको स्थापना हुन सकेको हो । यस नाताले पनि हेटौँडाको सम्बन्ध कम्तीमा यी तीन जिल्लासित हुनुपर्छ ।

हेटौँडाले आफूलाई अब गर्वका साथ आफूलाई राजधानी भन्न पाएको छ । व्यक्तिगत रूपमा म हेटौँडामा आफ्नो चढ्दो जवानीको १२ वर्ष शिक्षा, साहित्य र पत्रकारितामा व्यतीत गरेको छु ।

सिक्रीमा बाँधिएको श्रीकृष्णलाई भन्दा अलिकति बढी नै मेरो हृदय प्रफुल्लित भएको छ । कतिखेर हेटौँडा राजधानी घोषणा होला भन्ने खुसीले मेरो मुटुको ढुकढुकी बढेको थियो र अहिले अत्यन्त शान्त भएको छ ।

मेरो मनले मेरो हेटौँडालाई हार्दिक बधाई दिन खोजेको छ । हार्दिक बधाई राजधानी हेटौँडा । हार्दिक बधाई मेरो प्यारो प्यारो हेटौँडा ।

तिमी मेरो हृदयको कुना कुनामा छौ तर म तिम्रो हृदयको कुनामा छु कि छुइनँ, यो तिमीलाई नै थाहा छ । म आफ्नो ठाउँबाट तिमीलाई हृदयबाट बधाईको पुष्प टक्र्याउँदछु ।

यो पनि हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*