भुटानी शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ

तु खबर संवाददाता
२०८० असार ११,सोमबार १७:१७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जनालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मण्डिखाटारबाट पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । प्रहरीका अनुसार, शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको थियो ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमशः ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

फरार १२ मध्येका बुढाथोकी पनि हुन् । अझै ११ जना फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको छ ।