शणनार्थी प्रकरण : १६ जना पुर्पक्षका लागि जेल चलान, दुई धरौटीमा रिहा

तु खबर संवाददाता
२०८० असार २,शनिबार ०८:१४
file-photo

काठमाडौं । जिल्ला अदातल काठमाडौंले नेपालीलाई नक्कली भुटानी शणनार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि जेल चलान र २ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गर्दै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै, उक्त इजलासले आरोपितद्वय लक्ष्मी महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिइएको छ । तर, घटनामा उनीहरुको पनि संलग्न रहेको भए पनि कसूरको गम्भीरता र संलग्नताको अवस्था हेरेर धरौटी माग गरिएको हो ।

उनीहरु शुक्रबार साँझ नै तोकेअनुसार धरौटी बुझाएर रिहा भएका छन् । अरुलाई भने आदेशअनुसार सुन्धारास्थित जगन्नाथ देवल, कारागारमा पठाएको छ ।

आरोपितहरुलाई ३ वर्षभन्दा बढी कैद हुनसक्ने, उनीहरुले प्रमाण लोप गर्नसक्ने र भाग्नसक्ने सम्भावना समेत रहेको औंल्याउँदै जिल्ला अदालतले २ जना बाहेक सबैलाई थुनामा राख्न आदेश दिएको हो ।