नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि १६ जनालाई अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका १६ जनालाई म्याद थप गर्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उक्त प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौं लगेको हो ।
पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घण्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोली गठन गरेको थियो । पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत्र १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो । पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाँणका सयहोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा रहेका छन् ।
सोही प्रकरणमा मुछिएका निरज राई र प्रतिक थापा हालसम्म फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ । प्रतिक थापा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् भने निरज पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई छोरा हुन् ।
प्रहरीको हिरासतमा रहेका उनीहरुमाथि ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणाथर्थी बनाइ अमेरिका पठाउने गरेको आरेप छ ।
