कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत माओमिङसहितको टोली मुस्ताङमा

तु खबर संवाददाता
२०८३ आश्विन १८, आईतवार १७:३५
Flag of China

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी मुस्ताङ पुगेका छन्। कोरला नाकाको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिन राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्।

राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत कोरला नाका हुँदै मुस्ताङ आएको पुष्टि गरिन्। उनका अनुसार राजदूतको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ। भ्रमणको विस्तृत विवरण भने प्राप्त नभइसकेको उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चिनियाँ राजदूत तीनदिने भ्रमणका क्रममा मुस्ताङ आएका हुन्। टोली लोमान्थाङबाट जोमसोम जाने र त्यहाँ नेपाल तथा चीनका सम्बन्धित अधिकारीबीच कोरला नाकाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा हुने बैठकमा कोरला नाकाको वर्तमान अवस्था, सञ्चालन तथा सीमा क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल हुने बताइएको छ। बैठकपछि राजदूत पुनः लोमान्थाङ फर्किने र भ्रमणको अन्तिम दिन कोरला नाका हुँदै चीन फर्किने कार्यतालिका रहेको छ।