हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा

तु खबर संवाददाता
२०८२ पुष २३, बुधबार १३:५८

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त घोषणा गरेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो! जय देश! धरान उपमहानगरपालिकाअन्तर्गत पर्ने क्षेत्रबाटै चुनावी प्रतिस्पर्धामा उत्रिने उनले स्पष्ट पारेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा साम्पाङ धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका थिए। त्यसपछि उनले आफ्नै नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ गठन गरी हालै निर्वाचन आयोगमा दर्ता गराएका छन्।

हाल साम्पाङ देशका विभिन्न स्थानमा पुगेर पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय छन्। साम्पाङको उम्मेदवारी घोषणासँगै सुनसरी-१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।