प्रधानमन्त्री र बंकरका नेपाली विद्यार्थीको टिम लिडरबीच भिडियो संवाद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र इजरायलस्थित बंकर गएका नेपाली विद्यार्थीहरुको टिम लिडर विपिन सुवेदीबीच भिडियो संवाद भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार “सिक्दै कमाउँदै’’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलस्थित बंकर गएका ४९ जना विद्यार्थीहरूको टिम लिडर सुवेदीसँग भिडियो संवाद गरेका हुन् ।
सो क्रममा बंकर नेपाली विद्यार्थीको टिम लिडर सुवेदी आफूहरूलाई छिटो नेपाल फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरे ।
त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले अप्ठेरोमा परेका नेपालीहरूलाई नेपाल फर्काउन विभिन्न उपायहरू अपनाइरहेको भन्दै नआत्तिन र सुरक्षित भएर बस्न आग्रह गर ।
यसैबीच प्रधानमन्त्री प्रचण्डको सचिवालयले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई आजै सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिने जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको त्यस क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको बताए ।
