इजरायल आक्रमणमा परेर मृत्यु भएका थप एक जनाको शव ल्याइयो

तु खबर संवाददाता
२०८० कार्तिक १८,शनिबार १६:४९
file-photo

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका थप एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना नेपाली विद्यार्थीको शव आज ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, उक्त शव सल्यान सारदा–३ का प्रवेश भण्डारीको रहेका छन् । उनको शव फ्लाई दुबईको विमानमार्फत आज दिउँसो २ बजे नेपाल ल्याइएको हो ।

यससँगै इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएका ९ जनाको शव नेपाल ल्याइएको छ । अर्का मृतक डोटी लामिखाल–८ का पदम थापाको शव भने आज रातिसम्ममा आइपुग्ने मन्त्रालयले जनाएको छ ।

यसअघि बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो ।