चितुवाको आक्रमणबाट तीन जना घाइते, एकको अवस्था गम्भीर
वीरगन्ज । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार मध्यराति जंगलबाट गाउँमा छिरेको चितुवाको आक्रमणबाट एक जना प्रहरीसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा पोखरिया नगरपालिका–५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव रहेका छन् ।
घाइतेमध्ये दिल महम्मद मियाँको अवस्था गम्भीर रहेको र उनको पोखरिया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
अन्य घाइतेहरुको भने पोखरिया अस्पतालमै उपचार भइरहेको छ । चितुवा अहिले पनि गाउँकै एक गोठमा लुकेर बसेकाले नियन्त्रणका लागि बुधबार बिहान ९ बजेतिर डिभिजन वन कार्यालयको टोली पुगेर नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ ।
