मकवानपुरमा १०७ जनाको परीक्षण गर्दा १८ जना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ आश्विन ५,मंगलवार १८:१४

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा ८९ जनाको पीसीआर र १८ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका एक/एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ४० जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने ६ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ३० जना संक्रमणमुक्त र ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।