बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४०१७७ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४० हजार १७७ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि सोमबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १३ हजार ८३३ जना डेंगु संक्रमितका बिरामी फेला पर्दा रसुवामा भने ११ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।
यसैगरी, ललितपुरमा ९ हजार ५४०, मकवानपुरमा ५ हजार ७१४, भक्तपुरमा ५ हजार ५०४, चितवनमा २ हजार ६५०, धादिङमा १ हजार ४६१, काभ्रेमा ५३६, रामेछापमा १८३, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७२, सिन्धुलीमा १६३ र दोलखामा १०१ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।