सबै प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने : राज्यमन्त्री श्रेष्ठ

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १५:१५
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबै प्रदेशमा प्रसूति तथा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका सात वटै प्रदेशमा स्त्री रोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्ने बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए ।

उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । उनका अनुसार, हाल २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।