नेपालमा ५० लाख भन्दा बढीले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड१९) विरुद्धको पहिलो डोज खोप लगाउने व्यक्तिको संख्या ५० लाखभन्दा पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म ५० लाख ६३ हजार ५ सय २२ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
नेपालमा गत वर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिसकेको थियो । पहिलो चरणमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो ।
हालसम्म ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन्।
त्यसैगरी, ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा अर्थात पूर्ण खोप पाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालमा कोरोना विरुद्धको तीन प्रकारका खोप प्रयोग गरिएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा बनेको कोभिसिल्ड, जापानबाट अनुदानमा आएको एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप प्रयोग भइरहेको छ ।
हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएका छन् भने १० लाख ५९ हजार ७ सय ७८ जनाले पूर्ण खोप लगाएको पाइएको छ ।
त्यसैगरी, ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप पाइसकेका छन्।
एक मात्रा खोप लगाएपुग्ने जोन्सन एन्ड जोन्सनको खोप १३ लाख ४७ हजार ७ सय ४९ जनाले पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
