हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्धार
मकवानपुर । हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्धार गरिएको छ । सडक बालबालिकाको उद्धार र संरक्षणमा काम गर्दै आएको मामाघर नेपालले आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्र चौरबाट ६ जना बालक र १ जना बालिकाको उद्धार गरिएको हो ।
सडकमा बस्दै आएका बालबालिकाहरुको उनीहरुको स्थानीय व्यक्तिहरुको सहयोगमा उद्धार गरीएको मामाघर नेपालका संरक्षक अर्पण (शिवराज) पराजुलीले जानकारी दिए ।
सडक जीवन त्याग्न तयार नभएका ती बालकहरुलाई स्थानीय व्यक्तिहरुको परामर्श पछी पिसिआर परीक्षण गरि उनीहरुको उद्धार गरिएको जनाइएको छ । मामाघर नेपालमा बालकहरु मात्र राखिने भएकाले १ जना बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको पराजुलीले बताए ।
उद्धार गरिएका मध्ये केही बालबालिकाहरु लक डाउनको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका कारण उनीहरुलाई पारवारिक पुनः स्थापनाको पहल पनि भइरहेको उनले बताए । पुनः स्थापनाको लागि उनीहरुको अभिभावकको खोजी कार्य गरी रहेको र बालबालिकाको अभिभावकलाई पनि अविलम्व सम्पर्कमा आउँन अनुरोध गरिएको छ ।
