नेकपा सचिवालय बैठक आज: कस्तो आउला प्रचण्डलाई ओलीको ‘काउन्टर’ जवाफ ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । आजको सचिवालय बैठकमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव ल्याउने बुझिएको छ ।
ओलीले ल्याउने प्रस्तावलाई यसअघि कात्र्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको काउन्टरको प्रस्तावको रुपमा हेरिएको छ ।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला बस्न लागेको सचिवालय बैठक र दुई अध्यक्षका फरक प्रस्तावबिच छलफल हुने भएकोले आजको बैठकलाई चासोको रुपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीले ल्याउने प्रस्ताव कस्तो होला र उक्त प्रस्ताव पार्टी विभाजनउन्मुख होला वा विभाजनको रेखा मेटाउला भन्ने जिज्ञासा सबैमा छ ।
यसअघिको बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई ओलीले ‘आरोपपत्र’को संज्ञा दिँदै फिर्ता गर्नुपर्ने बताएका थिए । आफुमाथि राजनीतिक जीवनकालमै गम्भीर आँच आउनेगरी प्रतिवेदन ल्याइएको भन्दै ती आरोप पुष्टि भए एकैठाउँ बस्न नसक्ने ओलीले बताएका छन् ।
प्रचण्डले भने प्रतिवेदन फिर्ता नगर्ने दाबी गर्दै आइरहेका छन् । यही बेला प्रचण्डले सो प्रतिवेदनसहित नेकपा बैठकमा नेताहरूबीच चलेको पत्रको सवालजबाफ समेत समेटेर तल्ला कमिटीमा वितरण गरिएको भन्दै ओली पक्ष थप चिढिन पुगेको छ ।
नेकपाको पछिल्लो विवाद र प्रचण्डको प्रतिवेदनपछि पार्टीमा थप धु्रवीकरण बढेको नेकपाका नेता कार्यकर्ताको बुझाइ छ ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् भने ओलीको पक्षमा उनीसहित ईश्वर पोखरेल, विष्णु पौडेल रहेका छन् । अर्का नेता रामबहादुर थापा बादल भने कतै पनि खुलेका छैनन् । यद्यपि बादलले ओलीलाई सहयोग गरे पनि ओली अल्पमतमै रहन्छन् । तर यस्तो बेला बहुमत र अल्पमतमा जान नसकिने ओली पक्षको तर्क आइरहेको छ । तर प्रचण्ड माधव नेपाल पक्ष भने सहमति नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा छ ।
त्यसो त सचिवालयमा अल्पमतमा परिरहेको बेलामा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफूतिर तान्ने प्रयास गरे पनि गौतमले यसअघि नै आफू विधि, पद्धति र प्रणालीको पक्षमा उभिने घोषणा गरिसकेका छन् । गौतमले आफूलाई पार्टी एकताको पक्षधर भन्दै त्यसकै वकालत गरिरहेका छन् ।
