एमाले महाधिवेशन : सकियो मतदान

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १०:५८

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन भर्खरै सकिएको छ । करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिको अनुमान छ । तर, मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए । चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको थियो । अध्यक्ष पदमा केपी शर्मा ओली र डा. भीम रावलबीच निर्वाचन भएको थियो । पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।