मकवानपुर–१ : हेटौंडाको मत निर्णायक, कसले मार्ला बाजी

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार २२:३८

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ फेरि एक पटक पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारबीचको चुनावी परीक्षणस्थल बन्दैछ । पाँच–पाँच पटक चुनाव लडेका उम्मेदवार र पहिलो पटक संसद् पुग्न खोजिरहेका नयाँ अनुहार एउटै मैदानमा उभिएका छन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि यहाँ २३ जनाले उम्मेदवारी दिएका छन् । ४० वटा वडामा फैलिएको यस क्षेत्रमा १ लाख ५८ हजारभन्दा बढी मतदाता छन्, जसको ठूलो हिस्सा सहरी क्षेत्र हेटौंडा उपमहानगरपालिकामा केन्द्रित छ । २०७९ को निर्वाचनमा यही सहरी मत निर्णायक बनेको थियो । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले हेटौंडा उपमहानगरको मतको बलमा कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई २ हजार ३ सयभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

यसपटक एमाले, कांग्रेस, राप्रपा, नेकपा र रास्वपाका उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्रको विगत निर्वाचन परिणाम, मतदाताको बढ्दो संख्या र सहरी–ग्रामीण मत संरचनाले मकवानपुर–१ लाई फेरि पनि चासोको केन्द्रमा राखेको छ ।

नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंह, नेकपा (नेकपा)बाट विजय गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम उम्मेदवार रहेका छन् ।

डिना र सिंहले प्रतिनिधिसभा निर्वाचनमा पाँचौँ पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । डिनाले हालसम्मका सबै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकी छन् । सिंहले यसअघि दुई पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंह निर्वाचित भएका थिए भने डिना पराजित भएकी थिइन् ।
एमालेका राना तथा नेकपा र रास्वपाका गौतमद्वयको प्रतिनिधिसभा निर्वाचनमा यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो । २०६४ को संविधानसभा निर्वाचन लडेर पराजित हुन पुगेका राना मकवानपुरको तत्कालीन जिल्ला विकास समिति सभापति भइसकेका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार क्षेत्र नम्बर–१ मा ४० वटा वडा छन् । यहाँ ७८ हजार ८ सय १० महिला र ७९ हजार ६ सय २१ पुरुष गरी कुल १ लाख ५८ हजार ४ सय ३५ जना मतदाता रहेका छन् । २०७४ सालमा यही क्षेत्रमा मतदाताको संख्या १ लाख २४ हजार ७ सय ९९ थियो ।

यस क्षेत्रभित्र हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा तथा बागमती र बकैया गाउँपालिकाका वडा पर्दछन् । कुल मतदातामध्ये ठूलो हिस्सा सहरी क्षेत्र हेटौंडा उपमहानगरपालिकामा केन्द्रित छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका दिपकबहादुर सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दै कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरेका थिए । उपाध्यायले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी थिइन् । सोही निर्वाचनमा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा झैँ यसपटक पनि हेटौंडाको मत निर्णायक हुने देखिएको छ । हेटौंडाको मत निर्णायक हुँदा बाजी कसले मार्ला भनेर नागरिकहरुबीच चर्चा चुलिएको छ ।