बालेनको सट्टा वाग्लेले जवाफ दिने भएपछि संसदमा हंगामा
राष्ट्रपतिद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्री बालेन शाहको सट्टा अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने भएपछि प्रतिनिधिसभामा हंगामा मच्चिएको छ।
सभामुख डोलप्रसाद अर्यालले वाग्लेलाई प्रश्नको जवाफ दिन आह्वान गर्नासाथ विपक्षी दलहरूले टेबल ठटाएर विरोध गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा शब्दमा विरोध गर्दै बैठक वहिष्कार गरी निस्किएका छन्।
संसदभित्रैबाट कतिपयले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। हर्क साम्पाङले कडा शब्दमा विरोध गर्दै ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ भन्दै नारा समेत लगाएका हुन् ।
साम्पाङले कि त प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने कि त देशलाई प्रधानमन्त्रीविहीन भएको घोषणा गर्नु पर्ने अन्यथा कुनै हालतमा मान्य नहुने भन्दै कडा शब्दमा आलोचना गरेका हुन् । उनले प्रतिनिधिसभाको बैठक समेत बहिस्कार गरेका छन् ।
राष्ट्रपतिबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सदस्यहरुले राखेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने तय भएको थियो । तर, एकाएक प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई सांसदहरुको प्रश्नको जवाफ दिन भनेपछि प्रतिनिधिसभामा हंगामा सुरु भएको हो । सार्वभौमसत्ता सम्पन्न सांसदको मर्यादा नराखिएकाले प्रधानमन्त्री शाहको राजिनामा मागिएको बताइएको छ ।
यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचमै संसद् बैठक छोडेर बाहिरिएका थिए । त्यसको समेत चौतर्फी आलोचना भइरहेको छ । संसदीय मर्यादा प्रतिकुल हुने गरी प्रधानमन्त्रीको कार्यशैली देखिएपछि यसले सबैतिर बिरोध भइरहेको हो ।
