प्रेसलाई अंकुश लगाउने गरी बनेका ऐन खारेज गरिन्छ : प्रचण्ड

तु खबर संवाददाता
२०७८ मंसिर १८,शनिबार २०:४५

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेसलाई अंकुश लगाउने गरी बनेका ऐनहरु खारेज गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको महाधिवेशनको उद्घाटनपछि मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यस्तो बताएका हुन् । लोकतन्त्र सुदृढ गर्न प्रेस स्वतन्त्र हुनुपर्ने दाहालका भनाई छ । विगतका सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरी बनाएका विभिन्न ऐनहरु खारेज गरिने उनले बताए ।

प्रेसलाई अंकुश लगाउने गरी आएका ऐन लागू हुन नदिइने दाहालले बताए । यस विषयमा गठबन्धनमा कुरा भइरहेको र प्रधानमन्त्रीलाई समेत भनिएको दाहालले सो अवसरमा बताए । प्रेसलाई कमजोर पार्ने र प्रेस मार्फत् भ्रम छर्न सकिन्छ कि भनेर षड्यन्त्र भइरहेको दाहालले दावी गरे । देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको र सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताए । माओवादी केन्द्र समर्थिक प्रेस सेन्टरको अधिवेशन चितवनमा जारी छ । कार्यक्रममा सेन्टरका अध्यक्ष महेश्वर दाहाल, पत्रकार ओम शर्मालगायतकाले मन्तव्य राखेका छन् ।