हेटौँडामा चर्को भाडा असुलीविरुद्ध कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण ३,आईतवार ०९:२६

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट  युवा संगठन नेपाल मकवानपुरले संगठनको देशव्यापी संघर्षको कार्यक्रम अनुसार मकवानपुरमा पनि यातायात व्यवसायिकले गरेको चर्को भाडा असुली विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा बाह्य तथा आन्तरिक सवारीसाधनका साथै यातायात काउन्टरमा अनुगमन गरेको छ ।

युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्यालले पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको वहानामा सवारी चालक र यातायात व्यवसायीहरुले सरकारले तोकेको भाडादर भन्दा दोब्बर भाडा लिएको जनगुनासो आएको कारण संगठनको केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा पनि विरोध तथा अनुगमन कार्यक्रम गरेको जानकारी दिएका छन्।

अनुगमनको क्रममा संगठनले लामो तथा छोटो दूरीका यातायातका साथै हेटौंडामा रहेको विभिन्न शुल्क काउन्टरहरुमा पुगेर ड्राइभर, यात्रु र यातायात व्यवसायीहरुसँग पहिले चलेको भाडादर, सरकारले तोकेको हालको भाडादर र हाल यात्रुबाट लिइरहेको भाडाको विषयमा सोधपुछ गरेको छ।

सोधपुछको क्रममा धरानबाट हेटौंडा, नारायणगढ हुँदै काठमाडौं हिँडेको यात्रुबाट ड्राइभरले पहिलाको भन्दा दोब्बर भाडा लिइ ठगी गरेको पाएपछि अनुगमन टोलीले तत्काल १००० रुपियाँ फिर्ता गराइएको छ।

त्यस्तै हेटौडाबाट काठमाडौंको लागि छुट्ने सुमो सेवा काउन्टरमा पनि बिना टिकट यात्रुलाई गाडीमा चढाएर आफूखुसी दोब्बर भाडा असुली गरिरहेको भेटाएको छ। प्रतिव्यक्ति रु. ५०० सय लाग्ने सुमो भाडा रु. १००० लिइरहेको कुरा प्रष्ट भएपछि संगठनले यात्रुको भाडा तत्काल फिर्ता गर्न लगाई अब आगामी दिनहरुमा त्यस किसिमको ठगी नगर्न र यदि गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

 

यसरी सवारी चालक र यातायात व्यवसायीहरुले यात्रुलाई मारमा पार्दै आफूखुसी चर्को भाडा असुली गरेर मच्चाइरहेको ज्यादतीका विरुद्ध आवाज उठाउँदै अनुगमन गरेकोमा सर्वसाधारण जनताले युवा संगठन नेपाललाई धन्यवाद दिएका छन्। साथै अधा भाडा फिर्ता पाएका यात्रुहरुले पनि संगठनले गरेको काम एकदमै सराहनिय रहेको र यसै गरी यातायातका क्षेत्रमा बेलाबेलामा अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको बेला युवा संगठन जिम्मेवारीका साथ अघि बढिरहेकोमा विशेष धन्यवाद दिएका छन्।

हाल स्वास्थ्य संकटको समस्याले देश र जनता आक्रान्त भइरहेको समयमा विभिन्न वहानामा ड्राइभर र यातायात व्यवसायीहरुले चर्को भाडा असुली गरिरहेकोले यसप्रति सजक र सचेत हुनुका साथै कतै ठगी भइरहेको थाहा पाइएमा संगठनलाई जानकारी गराइदिनु हुन अध्यक्ष अर्यालले आम सर्वसाधारणलाई आग्रह गरेका छन्।

त्यस्तै सरकारले तोकेको मापदण्ड विपरित विभिन्न वहानामा यात्रुहरूबाट चर्को भाडा असुली नगर्न यातायात व्यवसायीलाई अनुरोध गर्नुका साथै आगामी दिनहरुमा चर्को शुल्क लिई ठगी गरेको पाइएमा कडा कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*